Concept Paper (अवधारणा पत्र)

Home About – Executive Summary Concept Paper (अवधारणा पत्र)

बालबालिकाको लागि प्रहरी नागरिक अभियान
(Police Public Campaign for Children-P2C2)

अपराध रोकथामको लागि
दुर्व्यसनी सडक बालबालिका पुनर्स्थापना तथा सामाजिकीरण सम्बन्धी कार्यक्रम-२०७२
अवधारणा पत्र

  • पृष्ठभूमि:

चितवन मध्य नेपालको एक प्रमुख शहर हो । राजधानी काठमाण्डौं जोडने मार्ग र पूर्व पश्चिम राजमार्ग चितवन जिल्ला हुँदै जाने भएकोले यस जिल्ला नेपालको एक प्रमुख नाका अर्थात transit point को रुपमा विकशित हुँदै गएको छ । उद्योग-धन्दा, ब्यापार, पर्यटन, स्वास्थ्य तथा शिक्षासँग सम्बन्धित संघ-संस्थाहरूको स्थापना तथा विकाससँगै बसाई सराई गरी आउनेहरूको क्रम बढ्दै गएकोले यो जिल्लामा तीब्र जनसंख्या वृद्धि भइरहेको छ भने सोही अनुपातमा अन्यत्र जिल्लाहरूबाट आउने सडक बालबालिकाको संख्या पनि अधिक छ ।

सडक बालबालिकाहरु शारीरिक र मानसिकरुपमा अपरिपक्व मात्र होइन विशेष हेरचाह, स्याहार, शिक्षा, मनोरञ्जन, सुविधा र अवसरहरुबाट बञ्चित छन् । त्यसका अतिरिक्त सडक बालबालिकाहरु असुरक्षा, अवहेलना, तिरस्कार, शोषण र उत्पीडनका शिकार हुनुको साथै दुर्व्यसनको कुलतमा फसिरहेको अवस्थामा छन । जसका कारण ती बालबालिकाहरु राष्ट्रिय-अन्तर्राष्ट्रिय कानुनले प्रत्याभुत गरेको बाँच्न पाउने अधिकार (Right to survival), संरक्षणको अधिकार (Right to protection), विकास गर्न पाउने अधिकार (Right to development) र सहभागी हुन पाउने अधिकार (Right to participation) जस्ता जन्मसिद्ध अधिकारबाट बन्चित छन् ।

सडक बालबालिकाहरु आफ्ना जन्मसिद्ध अधिकारहरुबाट बन्चित भएको अवस्था छ जस्तो जाडो छल्ने न्यानो कपडा र ओतको अभावमा रहनु परेको, स्वास्थ्य सम्बन्धी समस्याको पीडामा छट्पटिनु परेको, शिक्षाबाट वञ्चित हुनु परेको, भोजन नपाएर भोकले आक्रान्त हुनु परेको, जीवन निर्वाहको लागि रद्दी वस्तुहरु संकलन गर्न  फोहोरको दुर्गन्धमा काम गर्नु परेको आदि । जसका कारण र केही नगण्य संख्यामा कौतुहलताको कारणले सडक बालबालिकाहरु कुलतमा लागेको देखिए पनि मुख्यत सडकमा बस्ने जेष्ठ सदस्यहरुको करकाप तथा दबाबमा बाध्य भई लागु पदार्थ सेवन गर्नु पर्दा त्यसको कुलतमा फस्न गएका छन भने दुर्व्यसनको कुलतमा लागेर प्राय सबैजसो सडक बालबालिकाहरू बाल दुराचार तथा बाल बिज्याँईका घटनाहरूमा समेत संलग्न भएका पाइन्छन । त्यतिमात्र नभई सडक बालबालिका विरुद्ध हुने अपराध (बालश्रम तथा श्रम शोषण, मानव बेचबिखन, कुटपीट, अन्य सामाजिक अपराधमा आदि), बढदै गएका छन भने बयस्कहरुबाट उच्छृंखल, असामाजिक एवं अपराधिक कार्यहरुमा तिनीहरुको प्रयोग (सडक बत्ति, घर तथा सवारी साधनको शिशा तोडफोड, लागु पदार्थ ओसार पसार तथा बिक्रि वितरण, चोरी आदि) गर्ने प्रवृत्तिमा पनि बृद्धि भएको पाईन्छ । यी उपरोक्त कारणहरुले गर्दा यो विषय आजको एक प्रमुख सुरक्षा चुनौतिको रुपमा देखा परेको छ । कुलत, बाल दुराचार तथा बाल बिज्याँईमा परेका बालबालिका समयसँगै वयस्क हुँदै जाँदा शान्ति सुरक्षाका लागि झन ठूलो चुनौतिको रुपमा खडा हुन जाने यथार्थलाई अहिले नै सजिलै अनुमान लगाउन सकिन्छ ।

माथि उल्लेख गरिए झैं सडक बालबालिका विरुद्ध हुने अपराध, अपराधमा तिनीहरुको प्रयोग र तिनीहरुबाट हुने बाल दुराचार तथा बालबिज्याँई यी तीनै जटिल समस्याको न्यूनीकरण अहिलेसम्म नेपालमा प्रचलनमै रहेको परम्परागत फौजदारी न्याय प्रणालीबाट सही रुपमा हुन सकेको छैन । यस परिप्रेक्ष्यमा यस्ता समस्या न्यूनीकरण गर्ने उत्तम विकल्पहरू मध्ये दिशान्तर (Diversion) एउटा हुन सक्दछ । फौजदारी न्याय प्रणालीले अवलम्बन गरेको दिशान्तरको अवधारणालाई कानुनको विवादमा परेका बालबालिकाहरूलाई मात्र नभई दुर्व्यसनको कुलतमा फस्दै गएका कारण भविष्यमा कुनै पनि बेला कानुनको विवादमा आउन सक्ने पीडित सडक बालबालिकाहरूलाई समेत समेटने गरी फराकिलो दायरालाई समेटने हुनु जरुरी छ ।

  • चितवन जिल्ला सडक बालबालिकाको अवस्था:

दियालो परिवार, चितवनले प्रकाशित गरेको सडक बालबालिकाहरुको अवस्था प्रतिवेदन, २०७१ अनुसार चितवन जिल्लाको सडक बालबालिकाहरुको संख्या करिब १५० को हाराहारीमा रहेको छ ।[१] जसमा बालिकाको संख्या करीब २० प्रतिशत रहेको छ र ती सडक बालबालिकाहरु १०-१८ वर्ष उमेर समूहका रहेका छन् ।

९३ जना सडक बालबालिकासँग गरिएको उक्त सर्वेक्षणमा ४३ प्रतिशत बालबालिका आपराधिक कार्यमा संलग्न रहेको र जसमध्ये अधिकांश बालबालिका चोरीमा संलग्न भैसकेको देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय चितवनको तथ्यांङ्कबाट एउटै सडक बालिका १८ पटकसम्म चोरी कार्यमा संलग्न भएको र कतिपय त कानुनी प्रक्रिया सम्पन्न भएकै दिन पुन चोरी कार्यमा संलग्न भएको पाइएको छ । यसरी गैरकानुनी क्रियाकलापमा संलग्न सडक बालबालिकाहरूबाट प्राय: फेरि पनि पटक पटक यस्ता कार्य हुने गरेको पाइन्छ । उक्त जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कबाटै बयस्कले योजना बनाई गंभीर प्रकृत्तिको अपराधमा सडक बालबालिकाको प्रयोग गरेको देखिएको छ भने लागु पदार्थको गैरकानुनी ओसार पसार तथा बिक्रि-बितरण गर्ने अधिकांस ब्यक्तिहरुले सीमा पारि भारतमा गएर लागु पदार्थ खरिद गर्न नेपाल भित्र्याउने ओसारपसार कार्यमा समेत तिनीहरुलाई दुरुपयोग गर्ने गरेको पाईएको छ ।

दियालो परिवारको उक्त सर्वेक्षणबाट ७५.२५ प्रतिशत बालबालिकाले लागु पदार्थ लगायत सूर्तीजन्य पदार्थ जस्तो: गाँजा, चरेस, ग्लु, चुरोट, गुट्खाहरू (पुकार र भोला) र रक्सी सेवन गर्ने गरेको देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनले २०७२ सालको असार महिनामा ३० जना सडक बालबालिकाहरुबारेमा गरेको प्रारम्भिक सर्भेक्षणमा सबै बालबालिका लागु पदार्थ सेबन गरेको खुल्न आएको छ ।

हिमालको कथा:

मैले २ वर्ष अगाडि सडकमा साथीहरुसँग चुरोट तान्न सुरु गरे । साथीहरुबाटै ग्लु (डेन्ड्राइड) सुघ्न सिकेँ भने बिस्तारै-बिस्तारै गाँजा, चरेस, रक्सी जस्ता पदार्थ सेवन गर्नु मेरो दिनचर्या बन्यो । पहिलो पटक चुरोट तान्नका लागि म ज्यादै जिज्ञासु र लालयित थिएँ । गाँजा र ग्लुको एक पटक लत लागेपछि छोड्न धेरै कठिन हुँदो रहेछ । म कहिलेकाँही यी सब कुलत छोड्न चाहन्छु तर सक्दिन । ….

(साभार सडक बालबालिकाहरुको अवस्था विश्लेषण,२०७१, दियालो परिवार, चितवन)

नि:सन्देह कुलतमा लागेका जुनसुकै व्यक्ति रोगी सरह हुन्छन् । तिनीहरु आफूले चाहेर मात्र पनि सुध्रन सक्दैनन् । तिनीहरु सुध्रिन परिवार, समाज अरु व्यक्तिको सहयोग अपरिहार्य हुन्छ । दुर्व्यसनमा लागेका बालबालिकालाई सुधार्न एउटा व्यवस्थित उपचारको आवश्यकता पर्दछ । हिमालको कथाको अन्तिम वाक्यांशबाट पनि तिनीहरुको पहिलो आवश्यकता उपचार हो भन्ने स्पष्ट हुन्छ । हिमाल र अन्य हिमालहरूको कथाको मर्मको गर्भबाट जन्मिएको हो, यो अवधारणा-पत्र  ।

  • लागु पदार्थ दुर्व्यसनमा लागेका सडक बालबालिका पुनर्स्थापना तथा सामाजिकीरण

अपराध रोकथामका लागि लागु पदार्थ दुर्व्यसनमा फसेका सडक बालबालिकाहरूलाई पुनर्स्थापना तथा आत्मनिर्भर बनाई सामाजिकीकरण गर्ने नै प्रमुख उद्देश्य हो, यस अवधारणा पत्रको । जसअनुसार ती दुर्व्यसनमा लागेका बालबालिकाहरूलाई लागु पदार्थको दुर्व्यसनबाट सुधार पश्चात तिनीहरुको उमेर, स्वास्थ्य एवम् शारीरिक अवस्था, पारिवारिक पृष्ठभूमि, शैक्षिकस्तर, आवश्यकता, क्षमता एवम् रुचिका आधारमा शिक्षा, सीप, रोजगारका अवसरहरुको खोजी गरी सक्षम र आत्मनिर्भर बनाउँदै लगेर पुन: सडकमा नफर्किने वातावरण तयार गरिन्छ । त्यसका लागि कूलतबाट छुटकारा दिलाई सकारात्मक सोच ल्याउने, आत्मविश्वास तथा क्षमता अभिवृद्धि गर्ने,  स्वावलम्बी बनाउने तथा रोजगारको अवसर उपलब्ध गराई दिने, त्यसमा सफल हुन सहयोग र हौसला प्रदान गर्ने सम्मका कार्यहरु समेटिन्छन् । त्यसका लागि देहायका चरणहरुमा कार्यक्रमलाई विभाजन गरिएको छ:-

३.१ अवधारणाको स्वरुप:

यस अवधारणाले देहायका तीन वटा मुख्य चरणहरुलाई समेट्दछ ।

३.१.१ पहिलो चरण:

यस चरण यो अवधारणा-पत्रको पहिलो तथा सबैभन्दा महत्वपूर्ण चरण हो । यस चरणमा दुर्व्यसनमा लागेका सडकबालबालिकाको लगत तयार गर्ने, तिनीहरुको स्वास्थ्य परीक्षण गर्ने, मनोपरामर्श दिने तथा मनोउपचार गराउने र ततपश्चात दुर्व्यसन उपचार केन्द्र (Drugs Rehabilitation Centers) राखी व्यवस्थित उपचार गर्ने कार्य गरिन्छ । यसै चरणमा नैतिक शिक्षा तथा संस्कार, आत्मविश्वासमा अभिवृद्दि गराउने प्रकृतिका शिक्षा तथा प्रशिक्षण  दिईनुकासाथै प्रत्येक बालबालिकामा अन्तर्निहित प्रतिभाहरु पहिचान गरी त्यसको प्रस्फुटन एवं अभिवृद्दि गराउने कार्यको समेत थालनी पनि गरिन्छ । सामान्यतया यो चरण छ महिनाको हुन्छ । लागु औषध दुर्व्यसनको समस्या दुर्व्यसनी आफैंले अँगालेको एउटा जटिल रोग हो[२] भने लागु पदार्थ दुर्व्यसनको कुलतमा फसेको व्यक्ति रोगी हो । यस रोगबाट मुक्ति पाउनका लागि केवल उनीहरुको मात्रै चाहना र दृढ ईच्छा शक्ति पर्याप्त हुँदैन । रोगबाट मुक्तिका लागि परिवार तथा समाजको स्नेह, हेरचाह, संरक्षणका अतिरिक्त व्यवस्थित उपचारको समेत आवश्यकता पर्दछ । त्यसका लागि सर्वप्रथम, परिवार तथा समाजको दुर्व्यसनको समस्याबारेको गलत बुझाई एवं नकारात्मक दृष्टिकोणमा परिवर्तन ल्याउन अपरिहार्य छ । दुर्व्यसनको कुलतमा फसेका जुनसुकै सडक बालबालिकालाई रोगीको रुपमा स्वीकार गर्ने र तिनीहरुको उपचारमा लाग्नु पर्दछ ।

३.१.२ दोस्रो चरण:

उपचारबाट सुधारिएका बालबालिकालाई उपचार पश्चात उनीहरूको संरक्षण, शिक्षा-दीक्षा, सीप आदिको बारेमा कार्य गरिएन भने ती बालबालिकाहरू पुन: सडकमा नै आइपुग्छन् । सडकको उही पुरानै परिवेशले उनीहरूलाई फेरी पुरानो दुव्यर्सनको अवस्थामा फर्काउने कुरामा कुनै शंका छैन । त्यसर्थ, त्यस्तो अवस्था आउन नदिन दुर्व्यसनको कुलतबाट मुक्ति पाएका बालबालिकाहरुलाई पारिवारिक पुनर्मिलन तथा संरक्षणका व्यवस्था गरिनुकासाथै उनीहरूको उमेर, अवस्था, रुचि, स्वास्थ्य अवस्था र शारीरिक क्षमताको पहिचान गरी पहिलो औपचारिक, अनौपचारिक शिक्षा प्रदान गर्ने त्यसको प्रगतिको विश्लेषणका आधारमा सीपमूलक तालिम प्रदान गरि सक्षम जनशक्तिका रुपमा तयार गरिन्छ । यो यस कार्यक्रमको अर्को महत्वपूर्ण चरण हो । यस चरणमा सबैभन्दा पहिला शिक्षामै जोड दिने रणनीति भए पनि आत्मनिर्भर बनाउदै लैजाने विषयलाई पनि साथसाथै अगाडि बढाईन्छ । औपचारिक शिक्षामा रुचि राख्ने बालबालिकालाई उनीहरुको रुचि अनुसारको उच्चशिक्षा सम्मको वातावरण बनाउने, औपचारिक शिक्षामा रुचि नभएका बालबालिकाहरुलाई अनौपचारिक शिक्षा प्रदान गरी साक्षर बनाउने र उसको रुचिका आधारमा सीप प्रदान गरी तदनुरुप अभ्यासको वातावरण तयार गरी दक्षता अभिवृद्दि गराउने  कार्य गरिन्छ । त्यसका अतिरिक्त यस चरणमा पनि नैतिक शिक्षा तथा संस्कार सिकाउने, आत्मविश्वासमा अभिवृद्दि गराउनुका साथै प्रत्येक बालबालिकाका अन्तर्निहित प्रतिभाहरु पहिचान गरी त्यसको अभिवृद्दि गर्ने कार्यलाई निरन्तरता प्रदान गरिन्छ । यस चरणको समय यतिनै भनि यकिन गर्न सकिदैन तथापि यो चरण ६ महिनाभन्दा बढी हुन सक्दछ ।

३.१.३ तेस्रो चरण:

दुर्व्यसनबाट मुक्त भई सीप र शिक्षा प्राप्त गरे तापनि गाँस, बाँस र संरक्षणको अभावको कारण पुन: सडकको परिवेशमा फर्कन नदिन तिनीहरुको शिक्षाको स्तर र सीपमूलक तालिमका आधारमा रोजगारको गर्ने र त्यसमा आत्मनिर्भर हुने बातावरण तयार गरिन्छ । आर्थिकरुपमा समेत आत्मनिर्भर बनाई आफ्नो खुट्टामा आफै उभिन सक्ने परिस्थितीको निर्माण यस चरणमा गरिन्छ । यसका लागि रोजगारका लागि सक्षम बनाउने, रोजगार उपलब्ध गराउने, एकल वा सामुहिक स्वरोजगारको बातावरण तयार गरि दिने र धानिन सक्ने अवस्था नआउन्जेलसम्म सहयोग तथा हौसला प्रदान गर्ने कार्यहरु समेत यस चरण भित्र पर्दछन । जसका लागि बजारसँग प्रतिस्पर्धा गर्ने अवस्थामा आइनपुगुन्जेलसम्म जीवन निर्वाहका लागि न्युनतम्‌ भए पनि अनुदान तथा सहयोगका साथै निरन्तर अनुगमन र हौसला प्रदान गरिन्छ ।

उपर्युक्त तीनै चरणहरु एक अर्काका परिपूरक हुन । सबै चरणका कार्यक्रमका आ-आफ्नै महत्व र अपेक्षित उपलब्धीहरु छन तरपनि कार्यक्रमको पूर्णत उपलब्धी भने यी तीनवटै चरणको कार्यक्रमको सफल कार्यान्वयनबाट मात्र संभव हुन्छ । जसले यथार्थमा सडक बालबालिकालाई सुधार गर्नका साथै पुन: सडकमा आउन बाध्य हुने, त्यही संगतमा घुलमिल हुने अवस्थाबाट जोगाई स्वावलम्बी र जिम्मेवार नागरिक बनाउन मद्दत पुर्‍याउछ । त्यसकारण एउटा चरणको कार्यक्रमको समाप्तिसंगै अर्को चरणको कार्यक्रम शुरु हुने र यो समग्रमा एउटा सिंगो कार्यक्रमकोरुपमा निरन्तररुपमा चलिरहन्छ ।

४. अवधारणा पत्रको लक्ष्य, उद्देश्य एवम् रणनीति:

४.१ लक्ष्य:

  • दुर्व्यसनमा फसेका सडक बालबालिकाहरूलाई पुनर्स्थापना तथा आत्मनिर्भर सहितको सामाजिकीकरण गरी चितवन जिल्लाको शान्ति सुरक्षालाई सबल बनाउने ।

४.२ उद्देश्यहरु:

  • लागु पदार्थको दुर्व्यसनमा फसेका सडक बालबालिकालाई पुनर्स्थापना केन्द्रमा राखेर उपचार गरी सुधार गर्ने ।
  • सुधारिएका बालबालिकालाई पुन: सडकमा फर्कनु पर्ने परिस्थिति सिर्जना हुन नदिन शिक्षा, सीप र सोच तथा व्यवहार सम्बन्धी प्रशिक्षण दिलाई असल एवं सक्षम नागरिक बनाउने ।
  • रोजगारका लागि सहयोग एवम् हौसला प्रदान गरि आत्मनिर्भर बनाउने ।

४.३ रणनीति:

यस अभियानको उद्देश्य प्राप्तिका लागि तीनवटा प्रमुख नीतिहरु; (क) सुधार (ख) शिक्षा तथा सीप (ग) रोजगार नीति अंगीकार गरिनेछ ।

यी तीनै चरणहरुभित्रै दुर्व्यसनमा लागेका सडकबालबालिकाको आमाबुबा, नजिकको नातेदार रहेको खुल्न आएमा परिवारसंग सम्पर्क स्थापित गरि पुनर्मिलन गराउने, दुर्व्यसनबाट छुटकारा दिलाए पछि ती अभिभावकलाई बालबालिका जिम्मा लगाउने, आवश्यकता अनुसार परिवारलाई समेत आर्थिक रुपमा आत्मनिर्भर बनाउने बातावरण सिर्जना गर्ने रणनीति अख्तियार गरिन्छ । मुख्यत: अभिभावक नभएका वा पहिचान नभएकाहरुलाई संरक्षकत्व समेत प्रदान गरी सबै चरणका कार्यक्रममा सरिक गराउने व्यवस्था गरिन्छ ।

यसका साथसाथै सडकमा आउने नया बालबालिकाको नियमित अनुगमन गरी दुर्व्यसनमा लाग्नु पूर्वनै निजको पारिवारिक पृष्ठभूमि एवं अवस्थाको अध्ययन गरी  जिम्मा लगाउने, संरक्षणमा पठाउने र नावालकलाई धुम्रपान, सूर्तीजन्य पदार्थ, मादक पदार्थ लगायत कुनै पनि नसा लाग्ने पदार्थ विक्रि-वितरण तथा उपलब्ध गराउन वा सेवन गर्नबाट रोक्न सम्बन्धित सबैलाई सचेत गराउने रणनीति अवलम्बन गरिन्छ ।

५. अवधारणाको औचित्य:

चितवनमा रहेका सडक बालबालिकाको अवस्थाबारे दियालो परिवारको सडक बालबालिकाहरु अवस्था विश्लेषण, २०७१ अनुसार ७५.२५ प्रतिशत बालबालिकाहरुले लागु पदार्थको सेवन गर्ने पाइएकोले शारीरिक र मानसिक अपरिपक्व बालबालिका, सडकमा रहनु पर्ने अवस्था र दुर्व्यसन समेत थपिन पुग्दा ती बालबालिकाहरु हरेक दृष्टिकोणले उच्च जोखिममा रहेका छन् । ४३% (प्रतिशत) बालबालिका अपराधिक कार्यमा संलग्न रहेको र अधिकांश बालबालिकाहरु शोषित पीडित भएका घटनाले उनीहरुको जोखिमको अवस्थालाई देखाउँछ ।

दुर्व्यसनमा लागेका सडक बालबालिकाको कम उमेर, शारीरिक र मानसिकरुपमा अपरिपक्वताका साथै गाँस, बास, कपास, शिक्षा, मनोरञ्जन र अभिभावकत्व जस्ता आधारभूत कुराको अभाव हुँदा जीवन निर्वाहको लागि कानुन विपरीत कार्य (अपराध) को साहारा लिने, दुर्व्यसनीमा लाग्ने र बालबालिका स्वयं अपराधको पीडितको दृष्टिकोणले उच्च जोखिममा रहने भएकोले नियन्त्रणमुखी प्रहरीको प्रतिकार्यले मात्र अपराध न्युनीकरणमा आशातीत प्रतिफल प्राप्त नभएकोले समस्याको कारणहरु (Causes of the problem) न्यून गर्दा अपराधको रोकथाम अत्यन्त प्रभावकारीढंगबाट हुन्छ ।

लागु पदार्थ दुर्व्यसनको समस्या दुर्व्यसनी आफैले अंगालेको एउटा रोग हो भने लागु पदार्थ दुर्व्यसनको कुलतमा लागेका सडक बालबालिका यसका रोगी हुन् । दुर्व्यसनको कुलतको रोगले ग्रस्त सडक बालबालिका विभिन्न खाले असामाजिक तथा गैरकानुनी कृयाकलाप संलग्न रहेका र तिनीहरु आफै धेरैजस्तो अवस्थामा अपराधको शिकार पनि भएका छन् । यी दुवै अवस्थाहरुले शान्ति-सुरक्षामै प्रतिकूल असर पारेको छ । यिनीहरुले चाहेर पनि आफै दुर्व्यसन र अपराधको दलदलबाट मुक्त हुन नसक्ने अवस्था हुँदा सडकबालबालिकाहरुलाई सडकबाट सुधार गृहमा पुर्‍याउने एवम् उपचार गर्ने, मनोपरामर्श दिने र दुर्व्यसनबाट सुधार पश्चात थप ज्ञान, सीप र सकारात्मक सोचयुक्त बनाई आत्म निर्भर बनाउन सकियो भने मात्र ती बालबालिकाहरूबाट हुने सबै खाले असामाजिक तथा गैरकानुनी कृयाकलापको अन्त्य गरी उनीहरु पीडित हुने अवस्थालाई समेत रोक्न संभव हुन्छ ।

अपराध रोकथाम तथा नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा र अमन चयन कायम राख्ने अग्रणी दायित्व नेपाल प्रहरीको हो । नेपाल प्रहरीले अपराधको सन्दर्भमा मूलत: रोकथाम तथा नियन्त्रणका दुई खम्बे रणनीति अख्तियार गरेको छ । ती दुवै रणनीतिहरु मध्ये विशेषत बालबालिकाको सबालमा नियन्त्रण रणनीति (Strategy of Reactive Policing) भन्दा कारण पत्ता लगाई निराकरण गर्ने उपाय अर्थात अपराध रोकथाम रणनीति (Strategy of Proactive policing) ज्यादै महत्वपूर्ण हुन्छ । अपराध घटेपछि अनुसन्धान गर्ने र कानुनी दायरामा ल्याउने जटिलतम् कार्यभन्दा अपराधको कारण वा कारकतत्वहरु पत्ता लगाई त्यसलाई निराकरण गरी अपराध नै हुन नदिने अवस्थाको सिर्जना यस कार्यक्रमले गर्ने हुँदा  जसको फलस्वरुप सुरक्षा स्थितीलाई जग देखिनै मजबुत बनाउने भएकोले यस कार्यक्रमको औचित्य पुष्टि हुन्छ ।

६. कार्यक्रमको संयोजन, संरचना निर्माण एवम् जिम्मेवारी:

यो कार्यक्रम प्रहरी नागरिक साझेदारी अवधारणामा आधारित भएकोले कार्यक्रमको संचालनका लागि प्रहरी, सरकारी निकाय एवं नागरिकको सहभागिता हुने गरि एक कार्यकारिणी अंगको  परिकल्पना गरिएको छ । अपराध रोकथाम तथा नियन्त्रणको आयामबाट यो अवधारणा अगाडि ल्याईएको हुँदा नेपाल प्रहरीले संस्थागतरुपमा यसको अगुवाई  गर्दा कार्यक्रम थप प्रभावकारी हुने हुँदा नेपाल प्रहरी अपराध अनुसन्धान विभाग अन्तर्गत महिला तथा बालबालिका निर्देशनालयको जिल्लास्तरसम्म विस्तार भएको महिला तथा बालबालिका सेवा केन्द्रको कार्ययोजनाभित्र समेटी तदनुरुप कार्यक्रम संचालन गर्ने अनुमति[३] समेत प्राप्त भएको छ । यो अवधारणा नेपाल प्रहरीको अगुवाईमा अघि बढाउने सन्दर्भमा नवीन विषय भएको हुँदा यसलाई Bottom to Top Approach बाट Pilot Project को रुपमा चितवनमा लागु गरी त्यहाँबाट प्राप्त पृष्ठपोषणका आधारमा केन्द्रीय योजना बनाई अन्यत्र स्थानमा क्रमश कार्यान्वयन ल्याउने सोच नेपाल प्रहरीको रहेको छ ।

दुर्व्यसनमा लागेका सडक बालबालिकाको उपचारदेखि रोजगारसम्मका कार्यहरु यसमा समेटिने हुँदा यी कार्यहरु धेरै सरकारी तथा गैरसरकारी निकायहरुको सरोकारको क्षेत्रभित्र पर्दछन् । जसमा प्रत्यक्ष सरोकार राख्ने जिल्लास्तरीय प्रमुख निकायहरुमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला विकास समितिको कार्यालय, जिल्ला शिक्षा कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, महिला तथा बालबालिका  कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, श्रम कार्यालय, जिल्ला बाल कल्याण समिति, नगरपालिका, सामुदायिक प्रहरी सेवा केन्द्र, CTEVT, सामुदायिक तथा निजी शैक्षिक संस्था, PABSON, N-PABSON लगायत संस्थाहरु पर्दछन् । त्यसैगरी चितवन जिल्लाको सन्दर्भमा अन्य गैरसरकारी संघसंस्था तथा क्लबहरुमा दियालो परिवार, युथ क्लब, हाम्रो घर, दुर्व्यसनी पुनर्स्थापना केन्द्रहरु तथा सामाजिक सेवाको क्षेत्रमा कार्य गर्ने रोटरी क्लब, लायन्स क्लब जस्ता संस्थाहरु र ती लगायतका सामाजिक क्षेत्रमा कार्यरत व्यक्तिहरुको सरोकार तथा चासोभित्र यस कार्यक्रम पर्दछ । उक्त कुरालाई मनन गरी सबैको सहभागिता रहने गरी कार्यक्रम संरक्षक, सल्लाहकार सहितको संचालन समिति, क्षेत्रगत उपसमितिहरु एवं संयोजक मोटामोटी प्रारुप उल्लेख गरिएको छ, जसलाई आवश्यकता अनुसार थपघट गर्न सकिन्छ ।

७. उपसंहार:

आजका बालबालिका नै भविष्यका कर्णधार हुन् । तर त्यसका लागि बालबालिकाले शिक्षा, स्वास्थ्य, भोजन, संरक्षण, सुरक्षा लगायतको अवसर एवम् वातावरण निर्वाद्ध रुपमा पाउनु पर्छ । दुर्भाग्य, ती सबैकुराहरुबाट सडक बालबालिका बंचित छन । दुर्व्यसनमा फसेका सडक बालबालिकाहरु त्यही अवस्थामा गुज्रँदै जाने हो भने यसले शान्ति-सुरक्षाको अवस्थालाई कमजोर बनाउनुका साथै भविष्यमा थप सुरक्षा चुनौतीहरु निम्त्याउने तथ्यलाई नजर अन्दाज गर्नु भूल हुनेछ ।

त्यसका लागि दुर्व्यसनीमा लागेको अवोध सडक बालबालिका पूर्णरुपमा परिवर्तन भइ आत्मनिर्भर नभएसम्म सहयोग र साथ दिईरहनु जरुरी हुन्छ नत्रभने कुनै पनि समयमा फर्केर (u-turn) पुन:सडकमा आई पहिलेको परिवेश र अवस्थामा फस्ने निश्चित छ । जसलाई मध्यनजर गरी यस कार्यक्रमले वेवारिस अवस्थामा सडकमा वस्न वाध्य उच्च जोखिममा रहेका दुर्व्यसनी सडकबालबालिकाहरुको सुधार(उपचार), शिक्षा तथा सीप र रोजगार तीनवटै चरणमा समेटि असल एवं जिम्मेवार नागरिकको रुपमा निर्माण गर्न उद्देश्य लिएको छ । यसो गर्न सकेमा यसले वेवारिसे अवस्थामा उच्च जोखिममा रहेका सडक बालबालिकालाई शान्ति-सुरक्षाको चुनौतीकोरुपमा हैन, परिवर्तनको संवाहकको रुपमा स्थापित गर्न सकिन्छ ।

यो आफैमा एउटा जटिल र लामो समयसम्म प्रक्रियामा रहने कार्यक्रम भएकोले प्रहरी-नागरिकको साझेदारिता अपरिहार्य छ भने यसलाई प्रहरीतर्फबाट पनि संस्थागतरुपमा अगाडि बढाउन र कार्यक्रमको निरन्तरको लागि अपराध अनुसन्धान विभाग, महिला तथा बालबालिका निर्देशनालय अन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रको जिम्मेवारीभित्र राख्न सान्दर्भिक देखिन्छ ।

अल्पकालीन कार्यक्रम अन्तर्गत महिला तथा बालबालिका सेवा केन्द्रहरूको अगुवाईमा दुर्व्यसनमा [४] फसेका सडक बालबालिकाहरुलाई स्थानीय सुधार केन्द्र लगायतका संस्थाहरुको सहयोग लिई सुधार तथा उपचार गर्ने र पुन: सडकमा नफर्कने वातावरण निर्माणका लागि आवश्यकता अनुसार अन्य निकायहरुसँग समन्वय र सहकार्य गर्नु उपयुक्त हुन्छ भने दीर्घकालीन कार्यक्रम अन्तर्गत नेपाल प्रहरी श्रीमती संघद्वारा काठमाण्डौंको रानीबारीमा सञ्चालित लागु पदार्थको दुर्व्यसनीहरूलाई उपचारका गरिने आसरा सुधार केन्द्रको शाखा लागु पदार्थको दुर्व्यसनबाट बढी प्रभावित क्षेत्रहरुमा समेत बिस्तार गर्दै लैजानुका साथै जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रले अन्य सरोकार राख्ने निकाय तथा नागरिकसंगको सहकार्य तथा अगुवाईमा शिक्षा, सीप र रोजगारका विषयमा समेतलाई समेटने गरी कार्यक्रम अगाडि बढाउने पहल गर्नु आवश्यक देखिन्छ ।

यस कार्यक्रमले वृहत दृष्टिकोणभित्र समेटने गरी नागरिकहरुको समेत सहभागितामा दुर्व्यसन विरुद्दको जनचेतना फैलाउन “दुर्व्यसनबाट छुटकारा, घरघरको अभिभारा” भन्ने नाराका साथ अभियानकारुपमा “प्रत्येक घरलाई दुर्व्यसन निषेधित घर” का रुपमा पहिचान स्थापित गर्न घरदैलो कार्यक्रम गर्ने, स्कुल सम्पर्क कार्यक्रम गर्ने, नागरिक अन्तरक्रिया कार्यक्रम गर्ने, संचारमाध्यमबाट प्रचार प्रसार गरी दुर्व्यसनलाई जरैबाट उखेल्ने कार्य गर्ने र यसकासाथसाथै  नावालकलाई धुम्रपान, सूर्तीजन्य पदार्थ तथा मदिरा, ग्लु , औषधी लगायतका नसाका लागि प्रयोग गरिने बस्तुहरु बिक्रि बितरण तथा सेवन गर्न नदिने र त्यस्तो कार्य कसैबाट भए गरेको पाईएमा कानुन बमोजिम कडा कारवाही गरिने व्यवस्था गरिनुका साथै सडकमा दिनहुँ अनुगमन गरी कुनै नयाँ बालबालिका देखा परेमा निजलाई उद्दार गरी अभिभावक वा नजिकको नातेदार भए जिम्मा लगाउने, त्यस्तो अवस्था नभएसम्म संरक्षणगृहमा राखी पालनपोषण, शिक्षा दिने व्यवस्था हुन जरुरी देखिन्छ । यसले गर्दा सडकमा आउने र वाध्यतामा परी दुर्व्यसनको शिकार हुने अवस्थाको अन्त हुन जान्छ । यसबाट सुरक्षित समाजको परिकल्पना ठोस योगदान पुरयाउँदछ ।

 

[१] सडक बालबालिकाहरू प्राय: आउने तथा अन्यत्र जाने भइरहने भएकोले ठ्याक्कै संख्या यकिन गर्न कठिनाई हुन्छ ।

[२] …..drug addiction is a complex disease, and quitting takes more than good intentions or a strong will.National Institute on Drug Abuse,USA, visited on 5 August 2015.

[३] मध्य क्षेत्रीय प्रहरी कार्यालय, हेटौडाबाट मिति २०७२ साल श्रावण २७ गते यस कार्यक्रमलाई कार्यान्वयन गर्ने अनुमति प्रदान भएको छ ।

[४] सडक बालबालिकामात्र नभएर समग्रमा  युवा पुस्ता लागु पदार्थको दलदलमा फस्दै गएको र प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागको आर्थिक वर्ष २०७०।७१ को तथ्याङ्क अनुसार कुल अपराधको ४८ प्रतिशत भन्दा बढीमा १६-२५ वर्ष उमेर समूहका युवाहरुको संलग्नता रहेको पाइएको कटु यथार्थलाई हृदयङ्गम् गर्दै यसको समाधानार्थ अल्पकालीन तथा दीर्घकालीन रणनीति कार्यक्रम बनाउनु आवश्यक भैसकेको छ ।