Background & Origin (पृष्ठभूमि र प्रारम्भ)

Home About – Executive Summary Background & Origin (पृष्ठभूमि र प्रारम्भ)
  • पृष्ठभूमि:

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनहरुले बालबालिकाको मानव अधिकारको विषयलाई गंभीरतापूर्वक लिदै तदनुरुप विशेष कानुन बनाई तिनीहरुको आधारभूत मानव अधिकारहरुको प्रत्याभूत गरेका छन । ती अधिकारहरुले बालबालिकाहरुको बाँच्न पाउने अधिकार (right to survival), संरक्षणको अधिकार (right to protection), विकास गर्न पाउने अधिकार (right to development) र सहभागी हुन पाउने अधिकार (right to participation) हरुलाई समेटदछन भने जसले प्रत्येक बालबालिकाको सर्वाङ्गिण विकास र सर्वोत्तम हितलाई सुनिश्चित गरेको छ । नेपालले      ती सबै अन्तर्राष्ट्रिय मानव अधिकार सम्वन्धी कानुनको पक्ष राष्ट्र हुनुको साथै राष्ट्रिय कानुनमा समेत बालबालिका सम्वन्धी मानव अधिकारहरुको प्रत्याभूत गरेको छ ।

तर विडम्बना, दियालो परिवार, चितवनले प्रकाशित गरेको सडक बालबालिकाहरुको अवस्था प्रतिवेदन, २०७१ अनुसार चितवन जिल्लामा लगभग १५० जना सडक बालबालिकाहरु रहेकोमा कानुनद्वारा प्रत्याभुत गरेको ती आधारभूत मानव अधिकारहरु जस्तो विशेष हेरचाह, स्याहार, अभिभावकत्व एवं संरक्षण, शिक्षा, स्वास्थ्य सेवा, सर्वाङ्गिण विकास र सर्वोत्तम हितका लागि आवश्यक मनोरञ्जन, सुविधा र अवसरहरुबाट ती सबै बालबालिकाहरु बञ्चित छन् । ती सडक बालबालिकाहरु जाडो छल्ने न्यानो कपडा र ओतको अभावमा रहनु परेको, स्वास्थ्य सम्बन्धी समस्याको पीडामा छट्पटिनु परेको, शिक्षाबाट वञ्चित हुनु परेको, भोजन नपाएर भोकले आक्रान्त हुनु परेको, जीवन निर्वाहको लागि रद्दी वस्तुहरु संकलन गर्न  फोहोरको दुर्गन्धमा काम गर्नु परेको र सडक पेटीमा दयनीय अवस्थामा रात बिताउनु परेको अवस्थामा छन । त्यसका अतिरिक्त त्यत्तिकै डरलाग्दो अवस्थामा ती बालबालिकारहरु असुरक्षा, अवहेलना, तिरस्कार, शोषण र उत्पीडनका शिकार भएका छन । जिल्ला प्रहरी कार्यालय, चितवनमा कार्यरत प्रहरी नायब उपरीक्षक राजन अधिकारीले चितवन जिल्लामा रहेका सडक बालबालिकाको अवस्थाको बारेमा गर्नु भएको खोज एवं अध्ययनबाट प्राय ती सबै अवोध सडक बालबालिका दुर्व्यसनको कुलतमा फसेका देखिएको छ । दुर्व्यसन सडक बालबालिकाको पर्याय भएको छ भने त्यसको नतिजाको रुपमा सडक दुर्घटना, स्वास्थ्य समस्या र अपराधिक घटना देखा परेका छन चितवनमा  ।

दियालो परिवारको प्रतिवेदन,२०७१ अनुसार चितवनमा ४३ प्रतिशत बालबालिका आपराधिक कार्यमा संलग्न रहेको र जसमध्ये अधिकांश बालबालिका चोरीमा संलग्न भएको देखिन्छ । दुर्व्यसनको कुलतमा लागेकै कारण प्राय सबैजसो सडक बालबालिकाहरू बाल दुराचार तथा बाल बिज्याँईका घटनाहरूमा संलग्न भएका पाइन्छन । त्यतिमात्र नभई सडक बालबालिका विरुद्ध मानव बेचबिखन, हिंसा, बालश्रम तथा श्रम शोषण, कुटपीट लगायत अन्य सामाजिक अपराधका घटनाहरु घटेका गरेका छन भने अपराधी मनोवृत्ति भएका बयस्कहरुबाट लागु पदार्थ ओसार पसार तथा बिक्रि वितरण, चोरी जस्ता अपराधमा तिनीहरुलाई प्रयोग गर्ने गरेको पाईन्छ । अध्ययन अनुसार, चितवन जिल्ला प्रहरी कार्यालयको अभिलेखबाट १ जना १२ बर्षकी सडक बालिका १८ पटक चोरी कार्यहरुमा संलग्न भएको देखिन्छ । कतिपय गैर कानुनी क्रियाकलापमा संलग्न सडक बालबालिकाहरुलाई प्रहरी कार्यालयमा ल्याई संझाई बुझाई छोडेकोमा सोही दिन पुन अर्को  गैर कानुनी क्रियाकलापमा संलग्न रहेको पनि देखिएको छ । सडक बालबालिकाको सम्बन्धमा भन्नु पर्दा अपराधको शिकार हुने, अपराध गर्ने र अपराधमा संलग्न गराउने यी तीनै अवस्थाहरुको कारक तत्व अन्य केही नभएर दुर्व्यसन रहेको देखिन्छ । अर्थात दुर्व्यसन यसको केन्द्रबिन्दुमा रहेको छ ।

यी उपरोक्त कारणहरुले गर्दा सडक बालबालिकाको विषय मानव अधिकार, मानवीय संवेदनासंग मात्र जोडिएको नभई एक प्रमुख सुरक्षा चुनौतिको रुपमा देखा परेको छ भने कुलत, बाल दुराचार तथा बाल बिज्याँईमा परेका बालबालिका समयसँगै वयस्क हुँदै जाँदा आगामी दिनहरुमा शान्ति सुरक्षाका लागि झन ठूलो चुनौतिको रुपमा खडा हुन जाने देखिन्छ ।

दुर्व्यसनमा लागेका अधिकांस सडक बालबालिका दुर्व्यसनको कुलत राम्रो होईन भन्ने जान्दछन र छोडने चाहना पनि राख्दछन तर छोडन सकिरहेको अवस्था देखिदैन । वास्तवमा दुर्व्यसन आफैमा एउटा जटिल रोग भएकोले यसबाट मुक्त हुनका लागि केवल दुर्व्यसनीको चाहनाले मात्र संभव छैन ।शारीरिक, वौद्धिक एवं मानसिक अवस्थामा रहेका सडकबालबालिकाको सन्दर्भमा त्यो विषय झन असंभवप्राय नै छ ।दुर्व्यसनबाट छुटकारा पाउनाका लागि एउटा व्यवस्थित उपचारको आवश्यकता पर्दछ । जसको लागि परिवार, समाज, राज्य सबैले दुर्व्यसनीलाई अन्य रोगीसरह बुझ्ने र सुधारका लागि निरन्तर साथ सहयोग गर्ने खाँचो देखिन्छ । यही परिस्थिती विश्लेषणको पृष्ठभुमिबाट अपराध रोकथामका लागि दुर्व्यसनी सडकबालबालिका पुनर्स्थापना तथा सामाजिकीकरण कार्यक्रमको सुत्रपात भएको हो ।

दुर्व्यसनमा फसेका सडक बालबालिकाहरूलाई पुनर्स्थापना तथा आत्मनिर्भर सहितको सामाजिकीकरण गरी चितवन जिल्लाको शान्ति सुरक्षालाई सबल बनाउने लक्ष्य यस कार्यक्रमको रहेको छ भने उक्त लक्ष्य प्राप्तिका लागि देहायका उद्देश्यहरु राखिएका छन :-

  • लागु पदार्थको दुर्व्यसनमा फसेका सडक बालबालिकालाई पुनर्स्थापना केन्द्रमा राखेर उपचार गरी सुधार गर्ने ।
  • सुधारिएका बालबालिकालाई पुन: सडकमा फर्कनु पर्ने परिस्थिति सिर्जना हुन नदिन शिक्षा, सीप र सोच तथा व्यवहार सम्बन्धी प्रशिक्षण दिलाई असल एवं सक्षम नागरिक बनाउने ।
  • रोजगारका लागि सहयोग एवम् हौसला प्रदान गरि आत्मनिर्भर बनाउने ।

समग्रमा भन्दा यस कार्यक्रम मार्फत दुर्व्यसनी बालबालिकाहरूलाई पुन: सडकमा नफर्किने वातावरण तयार गरिन्छ । त्यसका लागि कूलतबाट छुटकारा दिलाई सकारात्मक सोच ल्याउने, आत्मविश्वास तथा क्षमता अभिवृद्धि गर्ने, पारिवारिक पुनर्मिलन वा संरक्षकत्व प्रदान गर्ने, शिक्षा र सीप दिलाउने, स्वावलम्बी बनाउने तथा रोजगारको अवसर उपलब्ध जुटाई दिने, त्यसमा सफल हुन सहयोग र हौसला प्रदान गर्ने सम्मका कार्यहरु समेटिन्छन् ।

कार्यक्रमको प्रारुप जिल्ला बालकल्याण समितिका संयोजक प्रमुख जिल्ला अधिकारी श्री बिनोद प्रकाश सिंहज्यू समक्ष पेश हुँदा वहाँबाट उक्त कार्यक्रम सान्दर्भिक देखिएकोले प्रस्ताव-पत्र अनुरुप अगाडि बढाउन हौसला प्रदान गर्नु भएको छ ।

त्यसै गरी जुनिअर प्रहरी अधिकृत शिक्षालय, चितवनका समादेशक एवं प्रहरी बरिष्ठ उपरीक्षक श्री रमेश प्रसाद खरेलज्यूले कार्यक्रमलाई लागु गर्न निरन्तर उत्साह प्रदान गर्नुका साथै नेतृत्वदायी भुमिका निर्वाह गर्दै आउनु भएको छ।

कार्यक्रमको कार्यान्वयनका लागि पूर्व-तयारीका चरणमा उद्योग बाणिज्य संघ, चितवन, रोटरी क्लब, लायन्स क्लब, दियालो परिवार, युथ क्लब, स्वास्थ्य क्षेत्र सम्बद्द व्यक्ति तथा संस्थाका पदाधिकारी, चितवन तथा नवलपरासी, गैडाकोटमा रहेका दुर्व्यसनी सुधार केन्द्रहरुका संचालकहरुसंग छुट्टाछुट्टै छलफल तथा अन्तर्क्रिया गरिएका थिए भने उक्त छलफल तथा अन्तर्कियाहरुमा सहभागीहरुबाट संस्थागत र व्यक्तिगत दुबै अवस्थामा साझेदारीमा काम गर्ने ईच्छा व्यक्त गर्नुका साथै कार्यक्रमलाई प्रभावकारी बनाउन महत्वपूर्ण सुझावहरु दिनु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायब उपरीक्षक राजन अधिकारीले अपराध रोकथामका लागि दुर्व्यसनी सडक बालबालिका पुनर्स्थापना तथा सामाजिकीकरण कार्यक्रम को प्रारुप सहितको प्रस्ताव तयार गरी स्वीकृतिको लागि मजकुर मध्य क्षेत्रीय प्रहरी कार्यालय, हेटौडामा पेश गरेकोमा मध्य क्षेत्रीय प्रहरी कार्यालय, हेटौडाका प्रमुख प्रहरी नायब महानिरीक्षक देबेन्द्र सुवेदीज्यूबाट विशेष चासो देखाई अमूल्य मार्ग निर्देशन सहित कार्यक्रमलाई जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रले समन्वय गर्ने गरी संस्थागतरुपमा संचालन गर्ने अनुमति मिति २०७२ श्रावण २७ गते प्राप्त भएको छ ।

मिति २०७२ असोज २८ गते जुनिअर प्रहरी शिक्षालय, चितवनमा प्रमुख जिल्ला अधिकारी श्री बिनोद प्रकाश सिंहज्यूको अध्यक्षता बसेको बैठकले सल्लाहकार समेत रहने गरी जुनिअर प्रहरी अधिकृत शिक्षालय, चितवनका समादेशक एवं प्रहरी बरिष्ठ उपरीक्षक श्री रमेश प्रसाद खरेलज्यूको संयोजकत्वमा संचालन समितिको गठन गरेको छ । प्रहरी नागरिक साझेदारी अवधारणामा आधारित कार्यक्रम भएकोले नागरिकका तर्फबाट अगुवाई गर्नका लागि सामुदायिक प्रहरी सेवा केन्द्र,नारायणगढका अध्यक्ष एवं आदर्श गृहका अध्यक्ष सुश्री मिना खरेललाई फिल्ड कार्यक्रम संयोजकमा उक्त बैठकबाट चयन गरेको छ ।

मिति २०७२ कार्तिक १४ गते शनिवारका दिन जुनिअर प्रहरी अधिकृत शिक्षालय, चितवनमा एक भव्य कार्यक्रमको आयोजना गरी मध्य क्षेत्र प्रहरी कार्यालय, हेटौडाका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक देवेन्द्र सुवेदीज्यूबाट दुर्व्यसनी सडक बालबालिका पुनर्स्थापना तथा सामाजिकीकरण कार्यक्रमको औपचारिक उदघाटन सुसम्पन्न भएको थियो  भने औपचारिक उदघाटन सम्पन्न पश्चात हालसम्म ३४(१ जना बालिका) जना दुर्व्यसनमा लागेका सडक बालबालिकालाई सडकबाट उद्दार गरी चितवन तथा नवलपरासी, गैडाकोट स्थित रहेका ८ वटा सुधारकेन्द्रहरुमा राखिएको छ ।